काठमाडौँ । म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई आज ‘मिडिया सोसाइटी अवार्ड–२०७८’ प्रदान गरिएको छ।
म्याग्दी मिडिया सोसाइटीका पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा पर्यटकीयस्थल टोड्केमा आयोजित समारोहमा रु सात हजार ८६५ नगदसहित गौतमलाई पुरस्कृत गरिएको हो। संस्थाका अध्यक्ष कमल खत्री र रघुगङ्गा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले उहाँलाई नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन्। बेनीबाट प्रकाशन हुने बेनी साप्ताहिक र बेनी अनलाइनका प्रकाशक गौतम नागरिक दैनिकलगायत सञ्चारमाध्यमसँग आबद्ध छन्। विसं २०७४ मा म्याग्दीबाट सञ्चालित सञ्चारमाध्यमका सञ्चालकहरु आबद्ध सोसाइटीले विसं २०७५ देखि वर्षमा एकजना पत्रकारलाई पुरस्कृत गर्दै आएको सचिव अमित विश्वकर्माले जानकारी दिए। रु. दुई लाख पाँच हजारको अक्षयकोषको ब्याजबाट जिल्लामा दस वर्षदेखि काम गरेका एकजना संस्थाका सदस्य पत्रकारलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ। सो पुरस्कारबाट यसअघि ठाकुरप्रसाद आचार्य, अमित विश्वकर्मा र प्रताप बानियाँ सम्मानित भइसकेका छन्। प्रत्येक वर्ष दस प्रतिशतका दरले पुरस्कारको राशि बढाउने गरिएको छ।
साधारणसभामा वडा अध्यक्ष शेरपुञ्जा र टोड्के हिल रिसोर्ट तथा होमस्टे प्रालिका सञ्चालक भीम शेरचनले म्याग्दीका पर्यटकीयस्थलको प्रवद्र्धन, विकास, सुशासन र परोपकारी क्षेत्रमा पत्रकारिताको महत्वपूर्ण योगदान रहेको बताए। सोसाइटीले स्थानीय तह र जिल्लाका कार्यालयले सञ्चारमाध्यमलाई विनियोजन गरेका बजेट स्थानीय सञ्चारमाध्यममार्फत परिचालन, सार्वजनिक सुनुवाइ, वृत्तचित्र निर्माण र पत्रकारिता तालिम सञ्चालन गर्दै आएको छ। यसैगरी, संस्थामा आबद्ध पत्रकारहरुको स्वास्थ्य बीमा गरेको छ। समस्यामा परेका पत्रकारहरुलाई आपत्कालिक कोषको ब्याजबाट नगद सहयोग गरेको छ। अधिवेशनले कमल खत्रीको अध्यक्षतामा संस्थाको नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
अधिवेशनका अवसरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, स्थानीय सञ्चारमाध्यमको सबलीकरण र पर्यटन प्रवर्द्धनसम्बन्धी छ बुँदे टोड्के घोषणापत्रसमेत जारी गरेको छ।