काठमाडौँ - १८ वर्षीय फ्रेन्च क्रिकेटर गुस्ताभ म्याकिओनले टि-२० अन्तर्राष्ट्रियमा दुर्लभ कीर्तिमान बनाएका छन्। उनी फिनल्यान्डमा जारी आइसिसी विश्वकप सब रिजनल युरोप छनोट ‘बी’ अन्तर्गत नर्वेविरुद्ध शतकीय पारी खल्दै टी–२० अन्तर्राष्ट्रियमा लगातार दुई शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका हुन्।
उनी नर्वेविरुद्ध ५३ बलमा ८ छक्का र ५ चौकासहित १०१ रनको शतकीय पारी खेल्दै टि-२० अन्तर्राष्ट्रियमा लगातार दोस्रो शतक हान्ने पहिलो खेलाडी बनेका छन्। गुस्ताभको शतक र ३ विकेटको सहयोगमा फ्रान्स ११ रनले विजयी भएको थियो।
उनी टि-२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने खेलाडी समेत हुन्। पहिलो खेलमा स्विट्जरल्याण्डविरुद्ध ६१ बलमा ९ छक्का र ५ चौकासहित १०९ रनको शतकीय पारी खेल्दै टी-२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए। तर फ्रान्स १ विकेटले पराजित भएको थियो।
गुस्ताभ १८ वर्ष २८० दिनमा शतक प्रहार गर्दै टि-२० अन्तर्राष्ट्रियमा कान्छा शतकधारी बनेका थिए। उनले अफगानिस्तानका हज्रतुल्लाह जजाईले बनाएको २० वर्ष ३३७ दिनको कीर्तिमान तोडेका थिए। गुस्ताभले ३ टि-२० अन्तर्राष्ट्रियमा २ शतक र १ अर्धशतकसहित २८६ रन बनाएका छन्।