काठमाडौँ - बालोन डी’ ओर को शीर्ष ३० सार्वजनिक हुँदा अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीको नाम छुट्नु फुटबल प्रेमीका लागि आश्चर्य हुन सक्छ। किनकि उनी लगातार १५ वर्ष देखि याे सुचीमा अटाउँदै आएका छन्।
तर, यसपटक सर्वाधिक ७ पटकका बालोन डी’ ओर विजेता मेस्सी शीर्ष ३० को सुचीबाट बाहिरिएका छन्। उनी २०२१ को बलोन डी’ ओर विजेता हुन्। यस क्रममा मेस्सीले २०२०-२१ सिजनमा बार्सिलोनाबाट ला लिगाको ३५ खेलमा ३० गोल गरेका थिए।
२०२१-२२ सिजन उनका लागि सुखद रहेन। मेस्सीले पिएसजीबाट लिग वानको २६ खेलमा मात्र ६ गोल गरे। सन् २००५ यता मेस्सी लगातार बलुन डी ओरको सुचीमा पर्दै आएका थिए।
मेस्सीले स्थान बनाउन नसके पनि उनका चिरप्रतिद्धन्द्धी क्रिस्टियानो रोनाल्डो शीर्ष ३० मा स्थान बनाउन सफल भएका छन्। रोनाल्डो ५ पटकका बालोन डी’ ओर विजेता हुन्।
यसपटक रियाल मड्रिडलाई स्पेनिस ला लिगा र च्याम्पियन्स लिगको उपाधि जिताउन प्रमुख भुमिका खेलेका फ्रेन्च फरवार्ड करिम बेन्जेमालाई बालोन डी’ ओरको मुख्य दाबेदारको रुपमा हेरिएको छ।
बालोन डी’ ओर अवार्ड १७ अक्टोबरमा पेरिसमा एक कार्यक्रमको आयोजना गरि वितरण गरिने छ।