काठमाडौँ - काठमाडौँ को मेयरमा निर्वाचित भइसकेपछि पनि बालेन साहले र्याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’को निर्णायकमा निरन्तरता दिने भएका छन्। शोका निर्देशक निकेश खड्काले बालेन नै जुरीको रुपमा निरन्तर हुने बताएका हुन्।
मेयर बालेन साह कार्यालयको काममा निकै व्यस्त रहेका छन्। आफ्नो कामको चटारोबाट केही घण्टा फुर्सद निकालेर उनी ‘नेपहपको श्रीपेच’को जजको भूमिका निर्वाह गर्न सुटिङ सेटमा पुग्ने गरेका छन्।
बालेनको व्यस्ततालाई ख्याल गर्दै कार्यक्रमको सुटिङ समय निर्धारण गरिएको छ। मेयर भइसकेपछि बालेनको व्यस्तताका कारण उनले जुरीको कामलाई निरन्तरता दिने वा नदिनेबारे अन्योल भएको थियो।
‘एग्रिमेन्ट अनुसार नै बालेनजी जुरीको रुपमा निरन्तर हुनेछन्,’ खड्काले भने। अन्य दुई जुरीमा र्यापरद्वय मानस घले र गिरीश खतिवडा पनि छन्। शोको ग्रान्ड फिनाले असार १४ गते हुने जनाइएको छ।
यसैबीच, बुधबार बेलुकाको एपिसोडबाट शशी मण्डल बाहिरिएका छन्। आगामी राउन्डमा डीएनएक्स, योङ यी, जेनिश क्षेत्री, विशेष भट्टराई, भाइबर साइमन, एमसी किङ र बाबु बिलिबरबीच प्रतिस्पर्धा हुनेछ।