कास्की । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जनताको सुरक्षा एवं संविधानको रक्षार्थ प्रहरी सङ्गठनलाई पूर्वाधार सम्पन्न गराउनु पर्नेमा जोड दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा दुईवटा आवास, भान्साघर र हिरासत गरी छुट्टाछुट्टै चारवटा सुविधायुक्त पक्की भवनको आज उद्घाटन गर्दै उहाँले पूर्वाधारले सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
साधन स्रोतको अभावमा अपेक्षित सेवा दिन नसकिने उल्लेख गर्दै उनले समय सापेक्ष नवीनतम प्रविधिसँगै पूर्वाधार निर्माण गरी सङ्गठनलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
सङ्गठनलाई प्रभावकारी रूपमा अघि बढाउनकै लागि विभिन्न ६२७ युनिटहरू थप गरिएको जानकारी दिँदै उहाँले त्यसका लागि २३ हजार जनशक्ति आवश्यक हुने बताए । आफ्नो इमान्दारिता र जिम्मेवारीका लागि सबैले आत्मसात गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रहरी महानिरीक्षक थापाले कुनै पनि काम विशेषमा नचुकेमा सङ्गठन झुक्न नपर्ने विश्वास व्यक्त गरे।
आम सर्वसाधारणले प्रहरी सङ्गठनप्रति आशा एवं विश्वास गरेको प्रसङ्ग उल्लेख गर्दै उनले मुलुकको शान्ति सुरक्षाको जिम्मा लिएको सङ्गठनले सामाजिक सञ्जालका आधारमा आफ्ना धारणा बताउन नहुनेमा जोड दिए ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शान्ति सुरक्षालाई प्रभावकारी बनाउन प्रहरी सङ्गठनलाई पनि पूर्वाधार एवं प्रविधि सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै महानगरपालिकाले पूर्वाधार सम्पन्न बनाउन आफ्नो तर्पmबाट निरन्तर साथ र सहयोग गरिरहेको बताए । प्रमुुख जिल्ला अधिकारी जयनारायण आचार्यले जनताको जीउधनको सुरक्षार्थ खटिने प्रहरी पूर्वाधार अभावका कारण आफैँ असुरक्षित हुने अवस्था हुन नहुनेमा जोड दिँदै त्यसका लागि राज्यले आवश्यकता अनुसारको पूर्वाधार तयार गरिदिनुपर्ने बताए ।