काठमाडौँ - अल्ट्रा धाविका सुनमाया बुढालाई शान्ति निकुञ्ज पूर्व विद्यार्थी संघ र बैकुण्ठ मानन्धर खेलकुद नेपालले शनिबार नगदसहित सम्मानित गरेका छन्।
प्रथम बैकुण्ठ मानन्धर अन्तर माध्यमिक विद्यालय ५ किलोमिटर दौड प्रतियोगिता दौरान फ्रान्समा सम्पन्न विश्व अल्ट्रा दौड प्रतियोगितामा दोश्रो हुन सफल धाविका सुनमाया बुढालाई शान्ति निकुञ्ज सम्मान पत्रसहित १ लाख १ हजार १ सय रुपैयाँ नगदसहित सम्मान गरिएको हो।
फ्रान्समा गत भदौंमा भएको विश्वकै प्रतिष्ठित तथा कठिन अल्ट्रा रेस मोन्ट ब्लांक (यूटीएमबी) को १०० किलोमिटर विधामा नेपालकी सुनमाया बुढा दोस्रो भएकी थिइन्।
दि नर्थ फेस एडभेन्चर क्लबका लागि खेलेकी सुनमायाले ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै दोस्रो स्थान हासिल गरेकी थिइन्। उनी फ्रान्सकै ब्लेन्डिन ल हिरोन्डेलीसँग पछि परेकी थिइन्। यस्तै आयोजकले १ वर्षमा ४ वटा म्याराथन दौडेका भेट्रान धावक शम्भुप्रसाद दाहाललाई पनि शान्ति निकुञ्ज सम्मान पत्रबाट सम्मान गरिएको छ।
उनीहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, आयोजक संघका अध्यक्ष विवेन्द्रभक्त प्रधानाङ, महासचिव नरेशकुमार मल्ल, कीर्तिमानी पूर्व धावक बैकुण्ठ मानन्धर, पूर्व धावक बुद्धवीर लामालगायतले पुरस्कृत गरेका थिए।