काठमाडौँ - न्यून चापीय प्रणाली प्रवेश गरेकाले हिमाली जिल्ला मनाङमा यसवर्ष भारी हिमपात भयो।
हिमपातका कारण यहाँ भर्खरै सुरु भएको कोरोना विरुद्धको खोपको बुस्टर मात्र अभियान रोकिएकामा बुधबारदेखि पुनः सञ्चालनमा आएको छ। माघ २० गतेदेखि मनाङ ङिस्याङ गाउँपालिकामा बुस्टर खोप अभियान सञ्चालन भए पनि हिमपातका कारण रोकिएको थियो। माथिल्लो मनाङमा खोप अभियानकै क्रममा भारी हिमपात भएपछि केही दिन रोकिएको खोप अभियान बुधबारबाट पुनः सञ्चालनमा आएको छ। खोप आजै माथिल्लो मनाङवासीलाई लगाउन सकिने स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए।
“बुस्टर खोप लगाउन छुटेका व्यक्तिका लागि उनीहरु जिल्लामा आएपछि लगाउने व्यवस्था गरिएको छ। ‘‘उहाँहरु सम्पर्कमा आउनुपर्ने हुन्छ, सूचना पनि जारी गरिएको छ,” उनले भने। कोभिसिल्ड र भेरोसिल्डको दोस्रो मात्रा लगाएर छ महिना पूरा भएका नागरिकका लागि कोरोना सङ्क्रमण विरुद्धको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउन अतिरिक्त खोपको रूपमा ‘बुस्टर’ खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको उनले बताए।
उनका अनुसार अभियानकै क्रममा भारी हिमपात भएपछि रोकिएको खोप कार्यक्रम सुरु भएको छ। छ महिना अघि कोरोना विरुद्धको खोप लगाइसकेको र उक्त खोपको रोग प्रतिरोधात्मक क्षमता क्रमशः घट्दै जाने भएकाले सरकारले अतिरिक्त खोपको रूपमा ‘बुस्टर’ खोप अभियानलाई तीव्रता दिएको छ।
यसका लागि सरकारले कोभिसिल्ड र भेरोसिल्ड खोप स्वास्थ्य कार्यालयमा उपलब्ध गराएको छ। जिल्लाका स्थानीय तह अन्तर्गतको शाखामा खोप पठाइसकिएको स्वास्थ्य प्रमुख आचार्यले बताए। अधिकांश नागरिकले कोभिसिल्ड, भेरोसिल्ड र जोन्सन एण्ड जोन्सन खोप लगाइसकेका छन्।