काठमाडौँ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआतदेखि नै ‘फिजिकल’ बनेको खेलमा च्यासल युथ क्लबले विभागीय टोली एपीएफमाथि १-० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको छ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार सम्पन्न दिनको पहिलो खेलको पहिलो हाफमा एपीएफविरुद्ध आक्रमक खेल प्रदर्शन गरेपनि तालमेलको कमी र फितलो प्रहारका कारण च्यासलले अग्रता लिन सकेन। यता, बढी रक्षात्मक देखिएको एपीएफले पनि पहिलो हाफमा पाएको केही सुनौलो मौकालाई सदुपयोग गर्न भने सकेन।
च्यासलले दोस्रो हाफमा बढी नै रक्षात्मक भएपनि एपीएफको डिफेन्सलाई चिर्दै गोल गर्न सफल भयो। उसका लागि रमेश बर्तौलाले गरेको एक मात्रै गोल महत्त्वर्ण ३ अंक दिलाउन पर्याप्त बन्यो। योसँगै यसअगाडि उपाधि दाबेदार थ्रीस्टार क्लबसँग ३-० गोल अन्तरले पराजित भएको च्यासलले अंक तालिकामा ३ अंक जोडेको छ।
यता, एपीएफले भने लगातार पराजय भोगेको छ। एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबसँग ३-२ गोल अन्तरले पराजित भएको हो।