हिमपात पछि किसानलाई सास्ती

काठमाडौँ - माघ २१ गते परेको भारी हिमपातले तमानखोला गाउँपालिका–२ भयरबोङ्गा कटेरीका चुडामडी छन्त्यालको दुई हाइटेक टनेलमा क्षति गरेको छ।

चार वर्षदेखि सञ्चालित डायमन्ड एग्रो फार्मका रूपमा रहेका दुई टनेलको अकाबरे खुर्सानी र सागमा नराम्रो क्षति भएको छ भने गहुँ र जौ खेती उठ्नै नसक्नेगरी ढाकेको छ। उनले हिमपात बर्सेनि भइरहने भए पनि यसपटक ठूलो हिपमातका कारण टनेल र तरकारीमा क्षति भएको बताए। अहिलेसमेत जिल्लाको उच्च पहाडी क्षेत्रमा परेको हिउँ पग्लन नसक्दा किसानलाई सास्ती भएको छ।

“हिमपातले सदरमुकाम क्षेत्रमा खुसी बनाएको होला, सिँचाइ नभएको सुक्खा ठाउँमा राम्रो पनि गर्यो, किसानहरू समेत खुसी भएका छन्,” छन्त्यालले भने, “तमानखोलाको उच्च स्थानलगायत उच्च पहाडी क्षेत्रमा भने हिमपातले समस्या भएको छ, मेरो फार्ममा लाखौँको मूल्यबराबरको तरकारी खेतीमा क्षति पुगेको छ।”

तमानखोला बराहताल आसपासमा अझै हिउँ पग्लन सकेको छैन। भारी हिमपातका कारण किसानको जौ खेती पुरिएको छ।  माघ २१ गते शुक्रबार परेको ठूलो हिमपातका कारण जिल्लाको तल्लो भागमा हिउँ खेल्न आन्तरिक पर्यटकको लर्को नै लाग्यो। त्यस्तै घोडाबाँधे, सीपलागयतमा हिउँ पग्लेर जनजीवन सामान्य भए पनि पातीहाल्नेमा भने अझै हिउँ पग्लिन सकेको छैन। जिल्लाको तल्लो भागमा हिउँ खेल्न जिल्ला सदरमुकाम बागलुङ बजारदेखि सयौँ आन्तरिक पर्यटन त्यस क्षेत्रमा पुगेका थिए। भारी हिमपातका कारण हिउँको खात बनेर बसेको छ। 

जिल्लामा २०६३ साल यताकै ठूलो हिमपात भएको स्थानीयवासीले बताउँदै आएका छन्। हिमपातले हिउँ खेल्ने पर्यटक र खेती लगाएका किसानहरू खुसी भए पनि उच्च पहाडी क्षेत्रका बासिन्दा भने सास्ती खेप्न बाध्य भएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×