काठमाडौं । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेको छ ।
शुक्रबार माओवादी केन्द्रको सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा भएको बैठकले ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेको हो ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र रास्वपाका सभापति रवि लामिछानेलगायत अन्य नेताहरु सहभागी थिए ।
बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको बताए । नयाँ सरकार ७६ (३) अनुसार गठन हुनुपर्नेमा ७६ (२) मा पुनः सरकार बन्नु असंवैधानिक भएको पुनले बताए ।
उनले भने, “नयाँ सरकार ७६ (३) अनुसार गठन हुनुपर्नेमा ७६ (२) मा पुनः सरकार बन्नु असंवैधानिक हो भन्ने हाम्रो निष्कर्ष छ।” ठूला दल मिल्दा निरंकुशताको खतरा हुने भएकाले सशक्त प्रतिपक्ष बनेर लोकतान्त्रिक मूल्यमान्यता जोगाउन भूमिका खेल्ने सहमति भएको उपमहासचिव पुनले बताए ।