काठमाडौँ - गायन रियालिटी शो ‘द भ्वाइस’को नेपाली संस्करणमा आगामी शुक्रबारदेखि नकआउट राउण्ड सुरु हुँदैछ। ब्याटल राउण्डबाट छानिएका र ‘स्टील’ भएर पुनः मौका पाएकासहित ३६ जनाले आगामी चरणमा प्रतिस्पर्धा गर्दैछन्।
नकआउट चरणमा १ कोचको टिममा रहेका ९ मध्ये छानिएर ३ जना प्रतिस्पर्धी बाँकी हुनेछन्। यसरी ४ कोचको टिमबाट छानिएका अन्तिम १२ जनाले लाइभ राउण्डमा गाउनेछन्। लाइभ राउण्डपछि दर्शकले भोट गर्न पाउनेछन्।
चौथो सिजनको कोचमा राजेशपायल राई, राजु लामा, प्रमोद खरेल र प्रविशा अधिकारी छन्। यसपटक पनि विदेशबाट समेत प्रतिस्पर्धी सहभागी छन् र प्रतिस्पर्धा कडा देखिएको छ।
नकआउट चरण अझै रोचक हुने देखिएको छ। नकआउट चरणका चारैवटा एपिसोड आगामी शुक्रबारदेखि प्रसारण हुनेछन्।
यसपटकको ब्याटल राउण्ड थप मनोरञ्जनात्मक देखियो। स्टेजमा राष्ट्रियता, संस्कृति र मनोरञ्जन ओतप्रोत हुने ढंगले प्रतिस्पर्धीले प्रस्तुति दिएका थिए। सन्ध्या बुढा अर्थात् काउली बूढीसहितका केही चर्चित अनुहार ब्याटलबाटै बाहिरिए भने आशालाग्दा नयाँ कलाकारले नकआउटमा प्रवेश पाएका छन्।