काठमाडौं - नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्न पाउने भएका छन्। अल इंग्ल्यान्ड क्लबका कार्यकारी प्रमुख स्याली बोल्टनले बेलायत प्रवेशका लागि कोभिड–१९ विरुद्धको खोप अनिवार्य नभएपछि जोकोभिचले विम्बल्डन खेल्न पाउने बताएका हुन्।
३४ वर्षीय सर्बियाका जोकोभिचले कोभिड–१९ विरुद्धको खोप नलगाएका कारण गएको जनवरीमा सम्पन्न अष्ट्रेलियन ओपन खेल्न पाएका थिएनन्। अष्ट्रेलिया प्रवेशका लागि आवश्यक नियम पूरा नगरेको भन्दै त्यहाँको सरकारले जोकोभिचलाई ‘डिपोर्ट’ गरिदिएको थियो।
विम्बल्डनअघि वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा कार्यकारी प्रमुख बोल्टनले भने, “पक्कै पनि सबैले खोप लगाएको राम्रो हो। तर, प्रतियोगितामा प्रतिस्पर्धा गर्नका लागि त्यसलाई अनिवार्य गरिएको छैन।”
ग्रास कोर्टमा हुने प्रतियोगिता विम्बल्डन जुन २७ तारिखबाट सुरु हुन्छ। जोकोभिचले २० ग्रान्डस्लाम उपाधि जितिसकेका छन्। जोकोभिच र रोजर फेडेररले समान २० ग्रान्डस्लामको उपाधि जितेका छन्।
जोकोभिचले २० ग्रान्डस्लाममध्ये ६ उपाधि विम्बल्डनमा जितेका छन्। जोकोभिचले विम्बल्डनमा लगातार पछिल्ला तीन संस्करण (सन् २०१८, २०१९ र २०२१) को उपाधि जितेका थिए।