काठमाडौँ - फूटबलका सबभन्दा महंगा खेलाडी नेयमारले पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लब छोड्ने सम्भावना रहेको फ्रान्सेली पत्रिकाहरूले खबर दिएका छन्।
पीएसजीले बार्सिलोनासँग २३ करोड ४० लाख रुपैयाँ तिरेर सन् २०१७ मा नेयमारलाई किनेको थियो। नेयमारले पीएसजीसँग सन् २०२७ सम्मका लागि सम्झौता गरेको भए पनि अर्को सीजनबाट नयाँ क्लब जान खोजेको आरएमसी स्पोर्ट पत्रिकाले लेखेको छ।
उनी क्लबमा खुशी छैनन्। क्लबका अध्यक्ष नासेर अल-खेलाफीले आफूप्रति नकारात्मक टिप्पणी गरेकोमा नेयमारको गुनासो छ। पीएसजी च्याम्पियन्स लीगबाट छिट्टै बाहिरिएपछि अध्यक्षले खेलाडीहरूको व्यवहारमा परिवर्तन आउनुपर्ने बताएका थिए।
नेयमारले क्लब छोड्न सक्ने विषयमा प्रश्न सोध्दा अल-खेलाफीले त्यसलाई पुष्टि गरेनन् तर क्लबमा जवान, प्रतिभाशाली, विजेता मानसिकता भएका र क्लबका लागि मरिहत्ते गर्ने खेलाडी चाहिएको बताएका थिए।
अध्यक्षले नेयमारको नाम नलिएको भए पनि त्यो टिप्पणी आफूप्रति नै लक्षित रहेको नेयमारको बुझाइ रहेको थियो।
अझ सुपरस्टार किलियन एम्बाप्पेले सन् २०२५ सम्मका लागि टीमसँग अनुबन्ध गरेपछि नेयमारलाई क्लबमा बस्न दिक्क लागेको बताइन्छ।